धनगढी, माघ २३ – मानव सेवा आश्रमले भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गर्ने भएको छ। आश्रमले शनिवार पत्रकार सम्मेलनमार्फत माघ २३ देखि ३० सम्म महायज्ञ सञ्चालन गरिने जानकारी दिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलको सुदूरपश्चिम महोत्सव स्थलमा आयोजना हुने महायज्ञका प्रमुख उद्देश्य सडक मानव व्यवस्थापनका लागि भवन निर्माण, सहयोगापेक्षी बेसहारा मानवको सेवा, सुदूरपश्चिम प्रदेशलाई सडक आश्रित मानवमुक्त बनाउने तथा २०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने आधार तयार गर्नु रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।
महायज्ञमा सांस्कृतिक झाँकी, कलश यात्रा, भुवा, हुड्केउली, गौरा सखियासहित शोभा यात्रा, पतंजली योग शिविर, विद्यार्थीका लागि शैक्षिक ज्ञान कार्यक्रम, आरती तथा प्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरिने संयोजक मदनबहादुर कुँवरले जानकारी दिए।
कथावाचक कमलनयन गौतमले प्रतिदिन बिहान ११:३० देखि साँझ ४:३० सम्म संगीतात्मक श्रीमद भागवत कथा वाचन गर्नेछन्। साथै पञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्दार, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय जप, पाठ परायण, स्वास्थ्य शिविर, फोटो प्रदर्शनी र प्रसाद वितरण पनि गरिनेछ।
महायज्ञबाट कम्तीमा पाँच करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ भने व्यवस्थापनका लागि ४० लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ।