धनगढी, फागुन २९: कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्राध्यापक डा. हेमराज पन्तलाई शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै धनगढी उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ।
आज बिहान ८ बजे धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित विशेष कार्यक्रमका बीच नगर प्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्र प्रदान गरेर प्राध्यापक पन्तलाई सम्मान गरे।
नगर प्रमुख हमालले पन्तले २०३७ सालदेखि धनगढीलाई कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे। पन्तले धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा ऐतिहासिक योगदान पुर्याएका थिए।
डोटीको शिखर नगरपालिका–९ मा जन्मिएका पन्तले भारतबाट विद्यावारिधि गरेका थिए। उनले २०४५ सालदेखि २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुखको रूपमा कार्य गरेका थिए। पन्तले २०७४ सालमा सेवानिवृत्ति लिएका थिए।
उक्त कार्यक्रममा पन्तको योगदानको प्रशंसा गर्दै विभिन्न व्यक्तित्वहरूले मन्तव्य राखेका थिए।